४ असार २०८२, बुधबार | Wed Jun 18 2025


आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पायो : अध्यक्ष मगर


988
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आफूहरूले गरेको सिफारिसहरू न्युन मात्रै कार्यान्वयन हुने गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

मंगलबार आयोगको २५ औँ वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मगरले आयोगले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सिफारिस गर्दै आएको भए पनि गरिएका सिफारिस कार्यान्वयन न्यून रहेको बताउनुभयो । उहाँले क्षतिपूर्तिको हकमा केही कार्यान्वयन भए पनि कारबाहीका लागि गरिएका सिफारिसहरू कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।

अध्यक्ष मगरले कारबाहीका लागि आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पाएको जिकिर गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको हालसम्म ५८ वटा मानवअधिकारको उल्लङ्घनसम्बन्धी उजुरी दर्ता भएको र सो अवधिमा एक सय ६४ वटा उजुरीहरू फछ्र्यौट गरिएको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सिर्जना भएका दायित्वहरू सरकारबाट कार्यान्वयन हुन सके मात्र मानवअधिकारको उपयोगितामा सहजता आउने धारणा राख्नुभयो ।

अध्यक्ष मगरले मुलुकले दायित्वहरू पूरा गरे नगरेको विषयमा निगरानी गर्ने तथा दायित्व बहन गराउनको लागि उत्तरदायी बनाउने जिम्मेवारी आयोगसँग रहेको स्पष्ट पार्नुभयो ।