
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनविरोधी क्रियाकलापहरु नगर्न चेतावनी दिनुभएको छ ।
कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्र फर्किने भ्रममा कोही पनि नपर्न आग्रह गर्नुभयो । उहाँले अहिलेका आन्दोलनहरु केही समयका लागि उचालिएका गतिविधि मात्रै भएको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पूर्वराजा शाह दरबार हत्याकाण्डपछि भवितव्यले राजा हुनुभएको बताउँदै पूर्वराजा शाहले गर्नुभएको कामहरु पनि देखेको बताउनुभयो । कुनै प्रकारका जनविरोधी क्रियाकलापहरुको चेष्ठा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टालाई धुलो चटाउने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले प्रतिगमन रोक्न र देशको रक्षा गर्न अग्रभागमा नेकपा एमाले रहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्