
काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
आज बस्ने बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ मा सांसद प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रस्तुत गर्ने मुख्य कार्यसूची पनि रहेको छ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यता राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ । आजको बैठकमा पनि आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल जारी रहने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस्