३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


नागढुंगा-मुग्लिङ सडकको पुनःनिर्माण कछुवाको तालमा छ : सांसद अर्याल


104
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वर्षा याममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा मंगलबार बोल्दै कार्यवाहक सभापति अर्यालले वर्षासम्बन्धित जोखिमबारे पूर्वतयारी थाल्न सरकारलाई सुझाव दिनुभएको हो ।

सभापति अर्यालले वर्षा लाग्न बाँकी रहँदै बाढीले नागरिकलाई दुःख दिन थालेको बताउनुभयो । उहाँले प्रधानमन्त्री र मन्त्रीहरु हवाईजहाज र हेलिकप्टरमा सवार हुने हुँदा सडकको अवस्था जानकारी हुन नसक्ने भन्दै नागढुंगादेखि मुग्लिङसम्मको सडकको पुनःनिर्माण कछुवाको तालमा भइरहेको बताउनुभयो ।

सभापति अर्यालले यस पटकको वर्षायाममा नागरिकले धेरै दुःख र कष्ट भोग्नुपर्ने मात्रै होइन सानादेखि ठूलासम्म दुर्घटना हुने धेरै सम्भावना देखिएकाले सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

कार्यवाहक सभापति अर्यालले तीन चरणमा काम गराएर भएपनि वर्षा अगावै जोखिम कम गराउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।