२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


विगतका सरकारले खनेको योजनाहरुको खाल्डो पुर्दैछौं : अर्थमन्त्री पौडल


624
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलले बजेटमा परिलक्षित योजनाहरु कार्यान्वन गर्न संविधानको सीमाभित्र रहेर काम गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडलले बजेट निर्माणका लागि संविधान सबैभन्दा महत्वपूर्ण दस्ताबेज भएको बताउनुभयो । उहाँले सरकारले नीति तथा कार्यक्रममार्फत प्रश्तुत गर्ने कार्यक्रमहरु कस्ले कार्यान्वयनमा लैजाने भन्ने कुरा अधिकारको सूचिमा प्रष्ट पारिएको बताउनुभयो ।

अर्थमन्त्री पौडलले देशको बार्षिक बजेट संघ सरकारले तयार गर्ने भएपनि संघले कार्यान्वन गर्ने कार्यक्रमहरु अत्यन्त न्युन भएको बताउनुभयो । बजेटमा उल्लेखित कार्यक्रमहरुमध्ये प्रदेश र स्थानीय सरकारले कार्यान्वयनमा लैजाने कार्याक्रमहरु अत्यधिक भएको उहाँको भनाइ छ ।

अर्थमन्त्री पौडलले स्थानीय सरकारअन्तर्गत रहेका विभिन्न उपभोक्ता समूहले गर्नुपर्ने कामहरु संघ सरकारको मुख ताकेर बस्दा योजनाहरु योजनामै सीमित हुने गरेको बताउनुभयो । उहाँले बजेटमार्फत तय गरिएका योजनाहरु कार्यान्वयन गर्न संविधानको दायरामा रही संघ, प्रदेश र स्थानीय सरकारले आआफ्ना जिम्मेवारी अनुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री पौडेलले पुँजीगत खर्च र राजश्वमा सन्तुलन नभएको बताउनुभयो । उहाँले बजेट निर्माण गर्दा राजश्वले साधारण खर्च धानेको देखाउनुपर्ने बताउनुभयो । उहाँले राजश्व र साधारण खर्चको सन्तुलन देखाउन कटौती गर्नै नसकिने कर्मचारीको तलवलगायतका शिर्षकको खर्च घटाउने अभ्यास बजेट निर्माताहरुले गर्ने गरेको बताउनुभयो । अनिवार्य दायित्वका शिर्षकबाट खर्च घटाउन नमिल्ने तर सन्तुलित बजेट देखाउन त्यस्तो गर्ने गरिएको उहाँको भनाइ छ ।

अर्थमन्त्री पौडेलले विगतका सरकारले बजेटले धान्नै नसक्ने गरी योजनाहरुको चाङ बनाएको बताउनुभयो । चालु आर्थिक वर्षको बजेटमा विगतमा भएको ६ हजार योजनामा सात हजार योजना थपेर खाल्डो खनेको भन्दै वर्तमान सरकारले खाल्डो पुर्नेगरी नीति तथा कार्यक्रम प्रश्तुत गरेको जिकिर गर्नुभयो ।