२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छ : सांसद प्रधान


234
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद प्रधानले सरकारले व्यवस्था विरोधी गतिविधिको प्रतिवाद गर्ने नीतिको विरोध गर्दै आपत्ति जनाउनुभएको हो । उहाँले सरकारले न्याय प्रणालीलाई समेत दुरुपयोग गरी जनताको भावना निस्तेज गर्ने दुष्प्रयास गरिरहेको आरोप लगाउनुभयो ।

सांसद प्रधानले गत चैत १५ गतेको घटनाका सम्बन्धमा अनुसन्धान गर्न न्यायिक छानविन आयोग गठन गर्न समेत माग गर्नुभयो । उहाँले तोडफोड, आगजनी र हत्याका घटनाहरु एकअर्कालाई आक्षेपित गर्न प्रयोग गरिएको समेत टिप्पणी गर्नुभयो ।

सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा संविधान र व्यवस्था विरोधी गतिविधिको प्रतिवाद गर्ने नीति लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको उक्त नीतिको विरोध गर्दै आएको छ । राप्रपा राजसंस्था स्थापनाको मागसहित देशव्यापि अनिश्तिकालिन आन्दोलनको समेत घोषणा गरिसकेको छ ।