
काठमाडौं । संविधानतः स्वतन्त्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका ठूला मुद्दाहरुमा प्रभावकारी काम गर्न नसकेको सांसदहरुले बताएका छन् ।
बुधबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् । ठूला भ्रष्टाचारका मुद्दाहरुमा राजनीतिक हस्तक्षेपको कारणले गर्दा अख्तियारले प्रभावकारी ढंगले काम गर्न नसकेको उनीहरुको भनाइ छ ।
समिति सभापति मायाप्रसाद शर्माले कर्मचारीमाथिको अनुसन्धानमा राजनीतिक हस्तक्षेप नभएपनि ठूला भ्रष्टाचारको मुद्दामा राजनीतिक हस्तक्षेप हुँदा अख्यिातारले प्रभावकारी ढंगले काम गर्न नसकेको बताउनुभयो । उहाँले देश विकासको मुख्य वाधकको रुपमा रहेको भ्रष्टाचार, कुशासन, अनियमितता र ढिलासुस्तिका कराण जनताले खोजेको प्रतिफल राज्यले दिन नसकेको बताउनुभयो । सभापति शर्माले सबै निकायहरुले स्वतन्त्र र निष्पक्ष काम गरुन् भन्ने जनताले चाहिरहेको बताउनुभयो ।
अख्तियारले मन्त्रालय र सरकारी संस्थाहरुलाई दिएको सुझावको अवस्था कस्तो छ रु भन्दै प्रश्न समेत गर्नुभयो । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले बार्गेनिङ गर्न पाइने भएकै कारण मानिसहरुको अख्तियारतर्फ रुचि बढ्दै गएको बताउनुभयो । उहाँले अहिले वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्म कोही चोखो नभएको भन्दै अख्तियारले प्रभाव छोड्न नसकेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले अख्तियारलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने उपायको खोजि गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक प्रभाव र दबाबकै कारण आयोगले अपेक्षाकृत काम गर्न नसकेको बताउनुभयो । उहाँले अख्तियारले ऐलानी जग्गाहरुमा सरकार तथा सार्वजनिक भवन बनाउन नदिएपछि करोडौं रुपैयाँको बजेट फ्रिज भइरहेको समेत बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले किन अख्तियार औँला उठाउने ठाउँ बनेको छ रु भन्दै प्रश्न गर्नुभयो । उहाँले अख्तियार दुरुपयोग अुनसन्धान आयोगमा उजुरीको संख्या बढ्दो रहेको उल्लेख गर्दै यसलाई न्युनिकरण गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय प्रमाणबिहिन उजुरीहरु आइरहेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताउनुभयो । कम उजुरी आउनु नै भ्रष्टाचार कम हुनु भएको उल्लेख गर्दै सांसद श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गर्ने दिशामा जान जरुरी रहेको बताउनुभयो ।
अख्तियारलाई राजनीतिक हस्तक्षेपबाट पर राख्नुपर्नेमा सांसदहरुको जोड छ ।
प्रतिक्रिया दिनुहोस्