
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामाग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताउनुभएको छ ।
बुधबार गोरखापत्र दैनिकको १ सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले नोटबाहेकका सबै छपाईका सामाग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको बताउनुभयो । जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उहाँको भनाइ छ । पासपोर्टलगायत सुरक्षाका कुनैपनि सामाग्री छपाईका लागि अब विदेश जानु नपर्ने उहाँको भनाइ छ ।
सञ्चारमन्त्री गुरुङले चलचित्र विकास बोर्डको पुरानो ऐन विस्थापित गरेर नयाँ बनाउने प्रक्रिया सुरु गरेको बताउनुभयो । उहाँले बोर्डको नयाँ ऐन दर्ता भइसकेकाले पास भएर छिट्टै सञ्चालनमा ल्याइने बताउनुभयो । उहाँले चलचिलत्र विकास बोर्डको आफ्नै स्वामित्वको भवन निर्माणको काम समेत भइरहेको बताउनुभयो । चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गरी राजश्व आर्जनको महत्वपूर्ण क्षेत्र बनाउने उहाँको भनाइ छ ।
सञ्चारमन्त्री गुरुङले जनताको हकहितलाई सुनिश्चत गर्ने राज्यको दायित्व भएकाले संघीय लोकतन्त्रान्त्रिक गणतन्त्रको मूल्य मान्यता बचाउनका लागि गोरखापत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्