२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैन : स्वास्थ्यमन्त्री पौडेल


325
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको भन्दै टिकाउने कुरामा भने कठिनाइ रहेको बताउनुभयो । उहाँले काठमाडौंभित्र स्वास्थ्य संस्थाहरुमा निर्वाह हुने जनशक्ति रहेको भएपनि काठमाडौं बाहिर भने जनशक्तिको पूर्ण रुपमा अभाव रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले संघीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्रै चिकित्सक रहेको बताउनुभयो । उहाँले जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने, काठमाडौं बाहिर दूर दराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ति खटिने स्थिति बनाउन सक्नुपर्ने बताउनुभयो । त्यसका निम्ति उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले सरकारले सात वटै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गरेको उल्लेख गर्नुभयो । उहाँले सात वटै प्रदेशमा सरकारले प्रत्यारोपण सेवा बिस्तार गरिरहेको बताउनुभयो । उहाँले राज्यले स्वास्थ्यमा प्राथमिकता निर्धारण गरेको भए ४ प्रतिशत लगानीले नपुग्ने उल्लेख गर्नुभयो ।