
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले मुख्य समस्या आर्थिक नीतिमा रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभामा सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै पूर्वमन्त्री बस्नेतले नीति तथा कार्यक्रमले नेपालको अवस्था, आवश्यकता, अवसर र चुनौतीहरूलाई वस्तुपरक ढङ्गले सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम समस्याको केन्द्रमा पुग्नै नचाहेको आरोप लगाउँदै यसले समाधान निकाल्छ भन्नेमा विश्वस्त हुन नसकिने टिप्पणी गर्नुभयो ।
पूर्वमन्त्री बस्नेतले समस्या नीति, संस्थागत व्यवस्थापन, विकास मोडल, शैली र आचरणमध्ये कुनमा हो भनेर त्यसको निरूपण गर्नुपर्ने बताउँदै त्यसो हुन नसक्दा बुझाइमा विविधता देखिँदै आएको जिकिर गर्नुभयो । उहाँले मुख्य समस्या आर्थिक नीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बुझ्नेकुरा र संवैधानिक व्यवस्था र हामीले अभ्यास गरिरहेको अर्थ राजनीतिको बिचको सामञ्जस्यता कायम राख्न नसक्नुमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
पूर्वमन्त्री बस्नेतले अहिलेको नीति तथा कार्यक्रम निराशाजनक रहेकोले यसले निकास दिन नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्