२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


नेकपा (एकीकृत समाजवादी)लाई जनमतको कमी छैन : अध्यक्ष नेपाल


0
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी)लाई जनमतको कमी नरहेको बताउनुभएको हो । उहाँले गत (२०७९) निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीलाई लाखौँको संख्यामा सहकारी संगठनमा आवद्ध व्यक्ति, एनजिओ, आइएनजिओमा संलग्न व्यक्तिहरुको साथ रहेको दाबी गर्नुभयो । अहिले पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनैपनि ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महशुस नगरेको बताउनुभयो ।

अध्यक्ष नेपालले पार्टीका कार्यक्रमहरुमा हरेक ठाउँमा हजारौँको संख्यामा जुलुस देखिएको बताउनुभयो । अब नेकपा (एकीकृत समाजवादी)लाई अरु भन्दा ठूलो र शक्तिशाली बनाउने बताउनुभयो । त्यसका लागि आफूले पाएको जिम्मेवारीमा जुट्न निर्देशन दिनुभयो ।

अध्यक्ष नेपालले गणतन्त्रका पक्षधरहरु फेरि पनि मिल्न जरुरी रहेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीको क्रान्तिकारी धार हराउन नदिन नयाँ पार्टी गठन गरेको जिकिर गर्नुभयो । आफ्नो पार्टी चुप लागेर बस्ने नभइ गतिशिलता, क्रियाशिलतामा विश्वास गर्ने पार्टी भएको बताउनुभयो ।