२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024


कुस्मा नगरपालिकामा किवी खेती विस्तार गरिने


0
Shares

पर्वत । थोरै मेहनत र छोटो समयमै प्रशस्त आम्दानी गर्न सकिने भएपछि पर्वतको कुस्मा नगरपालिकामा किवी खेती विस्तार गरिने भएको छ ।

कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङका खेम गुरुङले विगत चार वर्षदेखि १ रोपनी क्षेत्रफलमा लगाएको किवीले राम्रो फल दिन थालेपछि नगरपालिकाभर किवी खेती विस्तार गर्न थालिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ, वडा नं. १२ ठूलीपोखरी, वडा नं. १३ खौलालाकुरी र वडा नं. १४ आर्थर डाँडाखर्कमा चालू आर्थिक वर्षभित्रै किवी खेती विस्तार गरिने बताइएको छ ।

यसका लागि कृषकलाई आवश्यक तालिम प्रदान गर्नुका साथै व्यवसायिक रुपले खेती लगाउनका लागि सहयोग गरिने भएको बताइएको छ ।

यस वर्ष १ हजार बिरुवा खरिद गरेर कृषकलाई रोप्नका लागि वितरण गरिने जनाइएको छ ।

लहरा प्रजातीको किवी समुद्रि सतहदेखि एक हजार ४ सय देखि दुई हजार ५०० मिटर उचाईको भुगोलमा खेती गर्न सकिन्छ ।

लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोसम्म फल लाग्ने किवीको अहिले बजारमा प्रतिकिलो ४ सयदेखि ६ सय रुपैयाँका दरले बिक्री हुँदै आएको छ ।