Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


दोहोरो सुविधा लिन नपाइने व्यवस्थामा अब समस्या छैन : सांसद बडू


949
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कर्मचारीले दोहोरो सुविधा लिन नपाउने गरी कानूनी व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै सांसद बडूले हालसम्म सरकारी कर्मचारी निवृत्तिभरण भइसकेपछि प्राप्त हुने पेन्सन तथा सरकारी नियुक्तिवापतको सुविधा गरी दोहोरो सुविधा लिने गरेको बताउनुभयो । उहाँले कानूनमा केही पनि उल्लेख नभएका कारणले दोहोरो तथा तेहोरो सुविधा लिने गरेको बताउनुभयो ।

सांसद बडूले यस्तो सुविधा कानूनी रुपमै लिन नपाउने व्यवस्था गरिएको बताउनुभयो । दोहोरो सुविधाका बारेमा अपव्याख्या गरेर प्रचारबाजी भएपनि कानूनमै लेखिएकाले अब समस्या नरहेको उहाँको भनाइ छ । उहाँले फौजदारी अभियोगमा सजाय पाएका कर्मचारीको हकमा पेन्सन सुविधाबाट वञ्चित गर्न नहुने बताउनुभयो । उहाँले सानोतिनो भ्रष्टाचारजन्य अभियोगमामा सजाय पाएका कर्मचारीको पेन्सन रोक्दा परिवारले पाउने सुविधाबाट वञ्चित भइ दोहोरो सजाय हुनसक्ने बताउनुभयो ।

सांसद बडूले नायव सुब्बाबाट स्वतः छैटौँ तहमा बढुवा हुने तथा १२ वर्ष सेवा गरिसकेपछि सातौँ तहमा बढुवा हुने व्यवस्था गरिएकाले कर्मचारीको वृत्ति विकास र बढुवामा कुनै समस्या नरहेको बताउनुभयो ।