Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


स्वदेशी उत्पादनको प्रवर्द्धन आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड : उद्योगमन्त्री भण्डारी


234
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनको प्रवद्र्धन आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि सरकारले ‘नेपाली वस्तु, नेपालीको रोजाइ’ भन्ने नारालाई राष्ट्रिय अभियानको रुपमा अघि सारेको बताउनुभयो । उहाँले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, प्रवद्र्धन, आयात व्यवस्थापन तथा रोजगारीको सिर्जना गर्न निर्देशिका जारी गरेको बताउनुभयो ।

उद्योगमन्त्री भण्डारीले विभिन्न मेला तथा प्रदर्शनीले स्वदेशी वस्तुको बजार पहुँच बिस्तारमा सहयोग पुगेको बताउनुभयो । स्वदेशी उत्पादनको गुणस्तर तथा नवप्रवर्तनमा सरकारले विशेष जोड दिएको उहाँको भनाइ छ । उहाँले स्टार्ट अप उद्यम कर्जाका लागि नविनत्तम सोच, सीप र क्षमता भएका उद्यमीहरुलाई सहुलियत कर्जा प्रवाह गरिने बताउनुभयो ।

उद्योगमन्त्री भण्डारीले स्टार्ट अप कार्यक्रम सञ्चालनका लागि सरकारले एक अर्ब विनियोजित गरेको बताउनुभयो । स्टार्ट अप कर्जाका लागि पाँच हजार तीन सय उद्यमीले आवदेन दिएकोमा एक हजार तीन सय ३१ उद्यमी अन्तिम चरणमा छनोट भइ कर्जा दिने कार्य अघि बढेको उहाँको भनाइ छ ।