काठमाडौं, असोज २ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले मौलिक हक कार्यान्वयनसँग सम्बन्धित १६ ओटा विधेयकलाई पारित गरेका छन् ।
संघीय संसद सचिवालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा सभामुख कृष्णबहादुर महराले मौलिक हक कार्यान्वयनसँग सम्बन्धित १६ ओटा विधेयक सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको जानकारी दिए ।
सभामुख महराले विधेयक पारित गराउन सरकार, राजनीतिक दलको सहयोगप्रति धन्यवाद दिँदै आवश्यक सबै प्रक्रिया पूरा गरेर विधेयक पारित भएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हालसम्म संसद सचिवालयमा ३२ विधेयक दर्ता भएको जानकारी दिँदै चिकित्सा शिक्षा र नागरिकतासम्बन्धी विधेयक पनि चालू अधिवेशनबाटै पारित हुनसक्ने जानकारी बताए ।
हालसम्म १६ ओटा विधेयक पारित भएको र अब प्रतिनिधिसभामा ७ र राष्ट्रियसभमा तीनओटा विधेयक बाँकी छन् ।
संविधानमा मौलिक हक कार्यान्वयनसम्बन्धी कानुन यही असोज २ गतेभित्र निर्माण गरिसक्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्