काठमाडौं, असोज २ । रोक्का राखिएको यातायात समितिका बैंक खाता खोल्ने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
असोज ५ गते यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्नुअघि रोक्का रहेका खाता खोलिने भनी भइरहेको चर्चा सत्य नभएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले राससलाई बताए ।
‘नवीकरण नै नभएका समितिको नाममा रोक्का अवस्थामा रहेका खाता खुलाउन सकिँदैन । समिति कम्पनीमा गएको प्रमाण लिएर आए खाता खोल्न प्रक्रिया अघि बढाइन्छ । प्रधानमन्त्रीले पनि कम्पनीमा गएकाको खाता खोल्न निर्देशन दिनुभएको छ’–उनले भने ।
संघ–संस्था दर्ता ऐनअनुसार सामाजिक काम गर्ने उद्देश्यले समिति खोलेर व्यापार गरेको भन्दै विभागले चैत १८ गते नयाँ निर्देशिका जारी गरी नवीकरण नगर्ने सार्वजनिक गरेको थियो ।
समितिलाई पुस मसान्तसम्म कम्पनी दर्ता भइसक्न विभागले अवधि तोकेको छ ।
‘खाता नखोले अग्रिम टिकट बुकिङ गर्न सकिँदैन’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भने समितिको खाता नखोले अग्रिम टिकट बुकिङ गर्न नसकिने बताउँछन् ।
‘खाता सन्चालन गर्न नदिए पैसा कहाँ राख्ने ? यसैले खाता नखुलेसम्म टिकट खोल्न सकिँदैन । पेट्रोलियम पदार्थको भाउ पटक–पटक बढे पनि भाडा समायोजन हुनसकेको छैन । भाडा समायोजन गर्न पनि सरकारलाई अनुरोध गरेका छौं’–उनले भने ।
महासंघमा ३०७ समिति आबद्ध थिए । त्यसमध्ये २४५ समितिका बैंकमा खाता रहेकाले रोक्का भएको र ६२ को खाता सहकारी एवं वित्तीय संस्थामा रहेकाले सन्चालनमै रहेको यातायात क्षेत्रको सुधारमा लागेका रामबहादुर थापाले बताए ।
पाँच महिनासम्म पनि समिति कम्पनीमा दर्ता नगरी राजश्व छल्न खोजेको र राज्यलाई कमजोर बनाउन लागेको उनको आरोप छ । रासस









प्रतिक्रिया दिनुहोस्