कविराज घिमिरे/ईमेज:
धनकुटा । स्थानीय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ धनकुटामा नेपालकै पहिलो औद्योगिक ग्राम स्थापना भएको छ ।
औद्योगिक ग्रामको भौतिक पूर्वाधारको तयारी भए पनि कार्यविधि नबन्दा कार्यसंचालमा अन्योलता देखिएको छ ।
उद्योग स्थापना गर्ने भन्दै सरकारले धनकुटाको अमलेटारमा २०३९ सालमा ५८ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।
तर उद्योग स्थापना नहुँदा अधिग्रहण गरिएको जग्गा लामो समयसम्म उपयोगहीन बन्यो ।
औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको जग्गा औद्योगिक ग्रामको नाममा नामसारी गराएपछि पहिलो चरणको भवन निर्माण भइसकेको छ ।
औद्योगिक ग्राम सञ्चालनमा आएपछि घरेलु तथा साना उद्योगको प्रवद्र्धनमा टेवा पुग्ने घरेलु तथा साना उद्योग विकास समिति धनकुटाका प्रम्ख दीपक पौडेलको विश्वास छ ।
करिब ४ करोडको लागतमा ४८ वटा ब्लक निर्माण गर्नुपर्नेमा १३ ब्लक निर्माण भइसकेका छन् । साथै अन्य आवश्यक संरचना र पूर्वाधार निर्माण भएको छ ।
औद्योगिक ग्राम सञ्चालनमा आएपछि स्थानीय कच्चा पदार्थको उपयोग हुनु त छँदैछ त्यसमा पनि रोजगार पाउने भएकोले स्थानीय अझै उत्साहित छन् ।
तर अर्कोतिर औद्योगिक ग्राम सञ्चालनको लागि कार्यविधि भने बनेको छैन । जसका कारण सञ्चालनमा अन्योलता पैदा भएको छ ।
कसको मातहतमा सञ्चालन हुने भन्ने कुराको स्पष्ट नहुँदा अर्को अप्ठ्यारो उत्पन्न भएको छ ।
जसको कारण निर्मित पूर्वाधारको समेत उपयोग हुन सकेको छैन । एक गाउँ एक औद्योगिक ग्रामको अवधारणा सरकारले पनि ल्याएको छ ।
कार्यविधिकै कारण अलमल बनेको औद्योगिक ग्राम राम्रोसँग सञ्चालन गर्न सकियो भने नेपालकै पहिलो र नमूना ग्रामका रुपमा चिनिने थियो, यसमा समग्र सरोकारवालाले ध्यान पुर्याउने कि ?
प्रतिक्रिया दिनुहोस्