
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि संसदमा दर्ता भएको विधेयकप्रति आपत्ति जनाउनुभएको छ ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि भनेर संसदमा अहिले दर्ता भएको विधेयक आपत्तिजनक रहेको बताउनुभएको हो ।
अध्यक्ष दाहालले सामाजिक सञ्जाल नियमनका नाममा यसले नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकमात्र कुण्ठित पार्ने बताउनुभयो । उहाँले प्रेसको स्वतन्त्रता पनि विधेयकले नियन्त्रण गर्ने बताउनुभयो । विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवनाको तरवार झुन्ड्याइएको बताउनुभयो ।
अध्यक्ष दाहालले अहिल्यै त नागरिकलाई बोलेकै कारण हतकडीमा जिल्ला घुमाइरहेको सरकारले भोलि यस्तो विधेयक पारित भए के गर्ला ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अहिले राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको बताउनुभयो ।
अध्यक्ष दाहालले पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँडेको ? भन्दै प्रश्न गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्