२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


पर्वतीय देशहरुका एजेण्डाहरु स्थापित गर्न ‘सगरमाथा संवाद’


104
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जेठ २ देखि ४ गतेसम्म ‘सगरमाथा संवाद’ गर्ने घोषणा गर्नुभएको छ ।

जलवायु परिवर्तनको मुद्दा उठाउन सगरमाथा संवादको आवश्यक रहेको भन्दै सरकारले सगरमाथा संवाद आयोजना गर्ने तयारी थालेको हो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तन र यसले पर्यतीय क्षेत्रमा पारेको असरबारे विश्व जगतलाई जानकारी गराउन सरकारले ‘सगरमाथा संवाद’ शुरु गरेको बताउनुभयो । गत मंगलवार सिंहदरबारमा एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वनमन्त्री ठकुरीले कार्बन उत्सर्जनमा न्यून भुमिका खेलेका नेपाल जस्ता पर्वतीय मुलुकहरुले सामना गर्नुपरेको जलवायुको असर, जलवायु कार्य गर्नको लागि आवश्यक पर्ने वित्त र प्रविधि हस्तान्तरणको विषयमा विश्व समुदायलाई जानकारी गराउनु संवादको मुल उद्देश्य रहेको बताउनुभयो ।

उहाँले संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (युएनएफसिसी) को वार्षिक क्यालेण्डर कार्यान्वयन र उसले गर्ने गतिविधिहरुमा नेपालजस्ता पर्वतीय देशहरुका एजेण्डा स्थापित गर्न नेपाल लागिपरेको बताउनुभयो । उहाँले सगरमाथा संवादले जलवायु परिवर्तनको कारण नेपाल र नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेका समस्या समाधानका लागि महत्वपूर्ण भुमिका खेल्ने मन्त्री ठकुरीको विश्वास छ ।

सम्मेलनमा जलवायु परिवर्तनको असर कम गर्न सहकार्य गर्दै आएका राष्ट्रहरुका सरकार प्रमुख तथा मन्त्रीहरुलाई आमन्त्रण गरिने मन्त्री शाहीले बताउनुभयो । उहाँले संवादमार्फत नेपालका सबै परिस्थितिहरुको बारेमा छलफल गर्दै अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने संवादको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

मन्त्री शाहीले भन्नुभयो, ‘यो कार्यक्रमको मुल उद्देश्य भनेको विशेषगरी पर्वतीय क्षेत्र भएका मुलकहले जलवायु परिवर्तनको कारणले भोग्नुपरेको परिस्थिति र पर्वतीय क्षेत्रदेखि लिएर सामुन्द्रिक किनारसम्मका भागहरुमा परेको असरका बारेमा विश्व जगतलाई जानकारी गराउने हो ।’

मन्त्री शाहीले सरकारले सगरमाथा संवाद गर्ने निर्णय कोरोना भाइरस संक्रमण फैलिनुभन्दा पहिले नै गरेको भएपनि विभिन्न समस्याको कारण गर्न नसकेको बताउनुभयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त प्रयासले सगरमाथा संवादको शुभारम्भ भएको बताउनुभयो ।

संवादको गृहकार्यका लागि सरकारले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा निर्देशन समिति समेत गठन गरेको उहाँले बताउनुभयो । उहाँले संवादमा पर्वतीय क्षेत्रमा सहकार्य गर्ने तथा दौत्य सम्बन्ध कायम भएका सबै मुलुकहरुलाई आमन्त्रित गरिने बताउनुभयो ।