
काठमाडौं । समितिको कामकारबाहीलाई प्रभावकारी बनाउन सांसदहरुले समिति सभापतिको ध्यानाकर्षण गराएका छन् ।
बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरुले समितिले प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनीहरुले विधेयक वर्षौंसम्म अड्काएर राख्न नहुनेमा जोड दिए । समितिमा आएको जलश्रोत विधेयक, २०८१ सहितका अन्य विधेयकहरु छिटो टुंग्याउनुपर्नेमा जोड दिए ।
समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद महेश बस्नेतले अर्थतन्त्रलाई गतिशिल बनाउने सन्दर्भमा पनि पूर्वाधार विकास समितिको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाल सरकारले आफ्नो क्रय शक्तिलाई पूर्ण रुपमा सञ्चालन गर्न नसक्दा आम रुपमा श्रोत र साधन तल जान नसकेको बताउनुभयो । जसले गरिबी घटाउन र विकास निर्माण अघि बढाउन नसकिरहेको बताउनुभयो । विधेयकको छलफललाई वृहत दायरामा लैजाने कुरामा समिति अघि बढ्नुपर्ने बताउनुभयो ।
समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सरकारलाई दबाब दिएर भएपनि समितिमा आएको जलश्रोत विधेयकसहितका विधेयकहरु छिटो टुंग्याउनुपर्ने बताउनुभयो । उहाँले समितिमा परेका उजुरीका सम्बन्धमा उपसमिति गठन गरेर जानुपर्ने माग गर्नुभयो । उहाँले आफ्नो समितिसँग सम्बन्धित विषयहरुमा बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले समिति सदनप्रति जवाफदेहीहुन नसकेको आरोप लगाउनुभयो । उहाँले समिति समिति र संसदप्रति बढी जवाफदेही हुनुपर्नेमा सरकारप्रति बढी जवाफदेही बन्ने गरी अघि बढिरहेको बताउनुभयो । समितिको काम कारबाहीलाई व्यवस्थित गर्न आग्रह गर्नुभयो ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले पूर्वाधार विकाससम्बन्धी महत्वपूर्ण कामहरु अघि बढिरहेको बताउनुभयो । उहाँले केही अलपत्र रहेको र केही सम्पन्न हुने स्थिति रहेको भन्दै अलपत्र आयोजनारुहरु अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।
सांसद नेपालीले मुग्लिङ-पोखरा सडक खण्डको समितिले स्थलगत अनुगमन गर्नुपर्ने माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्