२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नेपाल डेरी एसोसिएसनको २६औं वार्षिक साधारणसभा सम्पन्न


1.56k
Shares

बुटवल । नेपाल डेरी एसोसिएसनको २६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न भएको छ ।

सोमबार एसोसिएसनको २६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस विशेष कार्यक्रम लुम्बिनी प्रदेशको बुटवलमा सोमबार सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि तथा दुग्ध क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । मुलुकको आर्थिक समृद्धिका लागि दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण रहेको रहेको उहाँको भनाइ छ । उपभोक्ताले स्वस्थ तथा गुणस्तरीय दूध खान पाउने अधिकारलाई ख्याल गर्दै गुणस्तरीय दूध उत्पादन गर्न पनि मन्त्री पन्थीले सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले एसोसिएसनले देशभरका उद्योगीलाई समेटेर दुग्ध क्षेत्रको विकासमा निरन्तर काम गरिरहेको बताउनुभयो । स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग आवश्यक सहकार्य गर्दै एसोसिएसनले विविध गतिविधिहरु गरिरहेको उहाँको भनाइ छ । दुग्ध क्षेत्रको व्यावसायिक विकास र निर्यातका सम्भावनाहरुको खोजीका लागि एसोसिसन निरन्तर सक्रिय रहेको अध्यक्ष दाहालले बताउनुभयो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दुग्ध क्षेत्रको समग्र विकासका लागि बोर्डले नीति नियम बनाउनेदेखि आवश्यक कामहरु गरिरहेको बताउनुभयो । गुणस्तरीय दूध उपभोक्तालाई दिनुपर्ने बोर्डका कार्यकारी निर्देशक यादवको भनाइ छ । निर्यातका लागि सातै प्रदेश र संघमा बजेट बिनियोजन भइसकेको उहाँले जानकारी दिनुभयो ।

आन्तरिक र बाह्य प्रयाप्त बजार रहेको बताउँदै बोर्डका कार्यकारी निर्देशक यादवले बजारको पहिचान गर्नुपर्ने धारणा राख्नुभयो । डेरी क्षेत्र प्रविधि र यान्त्रीकरणमा जानुपर्ने उहाँको जोड छ ।

कार्यक्रममा बोल्दै पशु सेवा विभागका उपमहानिर्देशक डा. लेखराज दाहालले पशुपालन तथा दुग्ध क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउँदै डेरी प्रडक्टहरुको विविधीकरण गरी निर्यातमा जानुपर्ने सुझाव दिनुभयो । निर्यात बढाउनका लागि सरकारले आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा एसोसिएसनका देशभरका २ सय भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको थियो ।