२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


‘कानूनी परिधिभित्र रहेर व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई छ’


611
Shares

काठमाडौं । तोकिएका शर्तको पालना गर्दै कानूनी परिधिभित्र रहेर व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई रहेको सरोकारवाला निकायहरुले बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरुले कानूनभित्र रहेर गरिएका व्यापार व्यवसायमा अवरोध गर्ने अधिकार कसैको नरहेको जिकिर गरे ।

कार्यक्रममा बोल्दै अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले व्यवसायीहरुले व्यवसायिक सुरक्षा र चुनौतिका विषयहरु के छन् भन्ने सन्दर्भमा छलफल चलाउन जरुरी रहेको बताउनुभयो । छलफलले व्यवसाय गर्दाखेरिका चुनौति, व्यवसायिक सुरक्षासँग जोडिने विषयवस्तुहरु स्पष्ट हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले नेपालमा कतैपनि दर्ता नभइ र गुणस्तरको बारेमा कहीँ पनि परीक्षण नगरी विक्री वितरण गर्नेहरुमाथि सरकारले कडा कारबाही गर्ने बताउनुभयो । उहाँले विभागले उनीहरुको सामान जफत गर्नेदेखि जरिबाना तिराउनेसम्मको निर्णय लिनसक्ने बताउनुभयो । उहाँले विधिवत ढंगले दर्ता गरेर नेपालमा दर्ता भएको वस्तु बेचेको खण्डमा पनि कारबाही, जफत वा कुनै प्रकारका दण्ड जरिबाना गर्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले मानव स्वास्थ्यसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने वस्तु भनेको खाद्य वस्तु रहेको बताउनुभयो । उहाँले खाद्य वस्तुमा कुनैपनि प्रकारको सम्झौता नगरिने बताउनुभयो । उहाँले स्वास्थ्यमाथिको खेलवाड गर्ने अधिकार कसैलाई पनि नरहेको बताउनुभयो । कुनैपनि वस्तु उत्पादन गरिसकेपछि कानूनी संरचनासँगै भौतिक संरचना र प्रविधिको प्रयोग अनिवार्य रहेकाले सरकारले सोहीअनुसार काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले सरकारी निकायहरुले व्यवसाय दर्ता र अनुगमनलाई सहज बनाइदिनुपर्ने बताउनुभयो । व्यवसायीहरुले पनि पारदर्शी हिसावले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गलत ढंगले नाफा कमाउन खोज्नेहरुलाई भने कानूनी दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो ।