
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपालको ४६ प्रतिशतले भू–भाग वन क्षेत्रले ओगटेकाले फर्निसिङका लागि यो क्षेत्र प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउनुभयो । उहाँले सरकारले फिर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रमा विकास गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री भण्डारीले अहिले पनि नेपालले विदेशमा प्लाइउड धेरै निर्यात गरिरहेको बताउनुभयो । उहाँले यो क्षेत्रमा पनि सरकारले विदेशी पुँजी पनि भित्र्याउन खाजेको बताउनुभयो । उहाँले नेपाली पुँजीलाई पनि प्रवद्र्धन गरी प्रविधिको विकास गर्न खोजिएको जानकारी दिनुभयो ।
मन्त्री भण्डारीले विदेशी पुँजी र प्रविधि दुवै भित्र्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले वैदेशिक पुँजी प्रविधिसँग जोड्ने योजनामा रहेको बताउनुभयो । उहाँले अहिले नेपालको वित्तीय क्षेत्रमा पुँजी थुप्रिएर बसेको भन्दै सम्भावना भएका क्षेत्रमा वित्तीय क्षेत्रले लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रमा करिव एक खर्ब भन्दा बढी पुँजी हुने रुखहरु लडिरहेको भन्दै त्यसलाई उपभोगको नीति ल्याउने गरी सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले स्थानीय स्रोत र साधनको प्रयोग स्थानीयले गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री भण्डारीले स्वदेशी वस्तुहरुको प्रदर्शनीहरु काठमाडौंमा मात्रै सिमित हुन नहुने भन्दै सात प्रदेशका औद्योगिक क्षेत्रहरुमा आयोजना गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्