
काठमाडौं । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । आज माघ १ गते थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई माघे संक्रान्ति (मकर संक्रान्ति) भनिएको हो ।
आजदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनमा गरिएको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आज देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ । यी ठाउँमा आज विशेष मेला पनि लाग्दछ ।
तराईमा आज बिहानै तीर्थस्थलमा गएर स्नान गरि तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । यी परिकारहरुले जाडोमा न्यानो प्रदान गर्दछ ।
आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ । पुसको अन्तिम दिनमा पकाएको तरुल माघमा खाने प्रचलनसमेत रहेको छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।
थारू समुदायमा माघी पर्व अर्थात् माघ १ गतेलाई नयाँ वर्षका रूपमा भित्र्याइन्छ । उनीरुले आज बिहानै स्नान, दान, खाना र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । तराई क्षेत्रमा माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ यो पर्व मनाइन्छ ।
प्रतिक्रिया दिनुहोस्