काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्वपूर्ण रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
सभामुख घिमिरेले समाजलाई अगाडि लैजान, राष्ट्रलाई समृद्ध बनाउन, राष्ट्रिय एकतालाई खँदिलो बनाउन, राष्ट्रको संस्कार, संस्कृतिलाई विकास गर्न र मानव जातिलाई उन्नत ठाउँमा लैजान शिक्षा महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले समाज र समाजलाई सञ्चालन गर्ने राजनीतिअनुसार नै मुलतः शिक्षा निर्देशित हुने बताउनुभयो ।
सभामुख घिमिरेले शिक्षाको विकास, शिक्षाको गुण, शिक्षाका लक्ष्यअनुसार नै समाजको दिशा निर्देशन हुने बताउनुभयो । उहाँले शिक्षालाई माध्यम बनाएर नेपालीहरु जीविकोपार्जनका लागि विदेश जाने गरेको बताउनुभयो । शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले नेपाललाई शिक्षाको हब बनाउने गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेले स्वरोजगारका अवसरहरु नहुँदा नेपाली विद्यार्थी बाहिरी देशमा गइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्