६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने


312
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी’ अभियान चलाउने निर्णय गरेको छ ।

सोमबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो । अभियानको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय भएको उहाँको भनाइ छ ।

बैठकले जनतासँग माओवादी अभियान समाजवादका लागि एउटा कोशेढुंगा सावित हुने विश्वास लिएको प्रवक्ता सापकोटाले बताउनु भयो । उहाँले संविधान संशोधनका विषयमा समेत बैठकमा गम्भिर छलफल भएको उल्लेख गर्दै संविधान संशोधन भन्दा कार्यान्वयनको पक्षमा जानुपर्ने पार्टीको धारणा भएको बताउनुभयो । उहाँले संविधान संशोधन गर्नैपरेमा अग्रगमन, परिवर्तनको र जनताको अधिकार बढाउनका लागि गर्नुपर्नेमा जोड दिइएको दिइएको सापकोटाको भनाइ छ ।

माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध दिवस मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासंग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । चैतभरि तयारी गरेर वैशाख महिनाभर हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने बताइएको छ ।

बैठकले सबै नेताहरुले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रिय कार्यालयले सबै नेताहरुको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रुप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने प्रवक्ता सापकोटाले बताउनुभयो ।