काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाई भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै कार्यकारी अध्यक्ष अधिकारीले जहाज मर्मतको काम खरिद नियमावलीकै कारण ढिला हुने गरेको जिकिर गर्नुभयो । उहाँले जहाज बिग्रेपछि बनाउने कुरा खरिद विनियमावलीसँग सम्बन्धित रहेको बताउनुभयो ।
कार्यकारी अध्यक्षले धेरै पुरानो खरिद विनियमावली भएकाले एयरलाइन्समैत्री नभएको बताउनुभयो । उहाँले खरिद विनियमावली एयरलान्समैत्री बनाउन २०७६ सालदेखि निगमले भनिरहेको भएपनि अहिलेसम्म सुधार नभएको बताउनुभयो । उहाँले पटक-पटक मन्त्रालयलाई भने पनि यसमा सुधार हुन सकेको जानकारी दिनुभयो ।
कार्यकारी अध्यक्ष अधिकारीले नेपाली सेनाको लागि मात्रै जहाजका स्पेयर पाटर््सहरुको लागि खरिद विनियमावली सुधार गरेको भन्दै त्यत्ति नै नेपाल एयरलाईन्सलाई गरेको खण्डमा काम गर्न सहज हुने बताउनुभयो । उहाँले जहाजको एउटा स्पेयर पाटर््स बिग्रियो भने ४५ दिनको टेण्डर आह्वान रहेको बताउनुभयो ।
कार्यकारी अध्यक्ष अधिकारीले वर्तमान समयमा ४५ दिनको टेण्डर हवाई क्षेत्रमा उपयुक्त नभएको बताउनुभयो । उहाँले अन्य देशमा सरकारी वायुसेवा निगम र अन्यका लागि खरिद विनियमावली फरक रहेको बताउनुभयो ।
कार्यकारी अध्यक्ष अधिकारीले इन्जिनियरहरुलाई दिनुपर्ने सेवा सुविधाहरु दिन सक्दा जहाज मर्मत हुन ढिला भएको बताउनुभयो । उहाँले स्थायी कर्मचारीहरुको सेवा सुविधाहरु बढाउन धेरै अफ्ठ्यारो प्रक्रिया रहेको बताउनुभयो । उहाँले दक्ष जनशक्तिहरु निरन्तर रुपमा विदेश पलायन भइरेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्