१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


संघीय ढाँचाअनुसार वित्त व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल


91
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक संघीय ढाँचामा गएपनि प्रभावकारी वित्त व्यवस्थापन अझै हुन नसकेको बताउनुभएको छ ।

सोमबार सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति उच्चस्तरीय परामर्श गोष्ठीमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले मुलुक संघीयतामा गएपनि अझै कतिपय व्यवस्थाहरु एकात्मक प्रणालीकै रहेको उल्लेख गर्नुभयो । उहाँले संघीयतामा मुलुक रहे पनि वित्तीय व्यवस्थापनका श्रोत परिवर्तन हुन नसकेको दाबी गर्नुभयो ।

अर्थमन्त्री पौडेलले राजश्व संकलन,आन्तरिक ऋण,अन्तर्राष्ट्रिय सहयोग र अनुदानका स्रोतहरुबाट मात्रै स्रोत व्यवस्थापन भइरहेको उल्लेख गर्नुभयो । उहाँले अहिले यी वित्तीय स्रोतबाट मात्रै वित्त परिचालन गरेर राष्ट्रको विकास र समृद्धिको आकाक्षालाई सम्बोधन गर्नसक्ने अवस्था नभएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले प्रचलित राजश्व संकलन,आन्तरिक ऋण,अन्तर्राष्ट्रिय सहयोग र अनुदानका स्रोतबाट विकास र समृद्धिको आकाक्षालाई पूरा गर्न नसक्ने परिस्थिति रहेको जानकारी दिनुभयो । उहाँले राजश्व संकलन,आन्तरिक ऋण,अन्तर्राष्ट्रिय सहयोग र अनुदानका स्रोत बाहेक अन्य वैकल्पिक वित्तको व्यवस्थापन गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले सरकारले लिएका नीतिहरु पछिल्लो समय वितरणकारी भएको बताउनुभयो । उहाँले संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेकाले समाजवादमा पुग्ने हतारोले वितरणकारी नीतिहरु लिएको देखिएको बताउनुभयो । उहाँले जबसम्म उत्पादनमा वृद्धि, स्रोतको प्रवद्र्धन गर्न नसकेसम्म वितरणकारी नीतिहरु प्रभावकारी हुन नसक्ने दाबी गर्नुभयो । उहाँले सरकारले घोषणा गरेका सामाजिक सुरक्षाका कार्यक्रमहरु अण्डर फण्डेट रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले सन् २०२६ मा विकासोन्मुख देशमा स्तरोन्नति भएपश्चात त्यसको प्रभाव सहुलियतपूर्ण ऋणहरुमा पर्ने स्थिति रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय ऋण लिँदा मुलुकको राष्ट्रिय आवश्यकतालाई ध्यान दिएर लिनुपर्ने बताउनुभयो । उहाँले सरकार खर्च व्यवस्थापनमा कमजोर देखिएको बताउनुभयो । उहाँले आयोजना छनोट र कार्यान्वयनमा सरकारसँग सिमित स्रोत र साधन रहेको बताउनुभयो ।