काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आइतबारदेखि केन्द्रीय कार्यालय च्यासलमा चलिरहेको छ । बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
४७ पेज लामो प्रतिवेदन प्रस्तुत गर्दै ओलीले पार्टीमा गुटबन्दी मौलाएको गुनासो गर्नुभएको छ । एमालेमाथि चौतर्फी आक्रमण भइरहेका बेला पार्टीभित्रै गुटबन्दी फस्टाउनु लोकतन्त्रकै लागि घातक हुने उहाँको तर्क छ । परिवर्तन विरोधीहरु एकोहोरो रुपमा एमालेविरुद्ध आक्रमणमा उत्रिएका बेला चूप लागेर बस्न नहुने भन्दै ओलीले प्रतिवेदनमार्फत नै प्रतिवादमा उत्रिन निर्देशन दिनुभएको छ ।
प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल माओवादीमाथि थुप्रै आक्षेपहरु लगाइएको छ । माओवादी सत्ताबाट बाहिरिएपछि परिवर्तनको विरुद्ध लागेकोदेखि राजावादीहरुसँग माओवादी अध्यक्ष पुष्पकमल दाहालको बाक्लो उठबस चलिरहेकोसम्मको आरोप लगाइएको छ । काँग्रेस र एमाले मिल्दा अस्थिरतावादीहरु असफल भएको दाबी गर्दै ओलीको प्रतिवेदनमा चीनसँग भएको बीआरआई फ्रेमवर्क सम्झौतालाई ऐतिहासिक उपलब्धिको रुपमा ब्याख्या गरिएको छ ।
यसैगरी सरकारले ६ महिनामा देशमा आशा जगाउने काम गरेको दाबी गर्दै कामको गति अझै बढाउने उल्लेख छ । प्रतिवेदनमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्ने अवसर दिइने छ ।
राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, सरकारका कामको समीक्षा, काँग्रेससँगको सत्ता सहयात्रा, संविधान संशोधन आर्थिक अवस्था सुधारलगायतका विषय समेटिएको बुझिएको छ ।
आइतबारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठक सोमबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्