२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


संसदीय समितिमा भन्सार प्रशासकहरुको गुनासै-गुनासो


897
Shares

काठमाडौं । भन्सार प्रशासनको काम गर्ने भन्सार प्रमुखहरुले अनावश्यक रुपमा दबाब सिर्जना हुँदा काम गर्ने वातावरण नभएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको अर्थसमितिमा भएको भन्सार सम्बन्धी काूननलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकको छलफलमा बोल्दै भन्सार प्रशासकहरुले यस्तो गुनासो गरेका हुन् ।

उनीहरुले भन्सार ऐनलाई व्यवस्थित नबनाएसम्म भन्सार अधिकृतहरुले काम गर्ने वातावरण नभएको बताए । उनीहरुले भन्सार ऐनलाई डिजिटलाइज र डिजिटल प्रविधि बनाउन जरुरी रहेको बताए ।

भन्सार प्रशासकहरुले भन्सार ऐनमा रहेका कतिपय प्रवाधानका कारण काम गर्ने वातावरण नभएको गुनासो गरे । उनीहरुले भन्सारमा बसेर पारदर्शी रुपमा कानूनी प्रक्रियामा काम गर्दा पनि दबाब तथा विभिन्न किसिमका टर्चर आउने गरेको उल्लेख गरे । उनीहरुले भन्सारमा व्यवसायीहरुले अनावश्यक दबाब दिने गरेको पनि बताए ।

बैठकमा बोल्दै भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सारमा केही समस्या हुँदा हुँदै पनि भन्सार अधिकृतहरुले उच्च मनोवलले काम गरिरहेको बताउनुभयो । उहाँले काम गर्दा पनि भन्सारमा धेरै दबाब रहेको बताउनुभयो । उहाँले भन्सार महानिर्देशक भएदेखि विभिन्न थ्रेडहरु आउन थालेकाले मानसिक रुपमा टर्चर भएको पनि सुनाउनुभयो ।

महानिर्देशक पुडासैनीले भन्सारमा बसेर काम गर्ने कि नगर्ने भन्ने विषयमा सोच्नुपर्ने बेला भएको उल्लेख गर्नुभयो । उहाँले भन्सारका विषयमा आफूलाई आएका पत्र र म्यासेजहरु अर्थमन्त्रीलाई देखाउन मन लागेको उल्लेख गर्नुभयो । उहाँले भन्सारका कर्मचारीले निष्पक्ष रुपमा कानूनी मापदण्डमा काम गरेता पनि निरपक्ष रुपमा प्रताडित बन्नुपरेको बताउनुभयो ।

महानिर्देशक पुडासैनीले भन्सारका कर्मचारीलाई व्यवसायीहरुले प्रभाव, मेनुपुलेट गर्ने गरेको स्वीकार गर्नुभयो । उहाँले व्यापारी व्यवसायीहरुको मानसिकता अझै पनि भन्सारलाई झुक्याउने प्रयास गर्ने रहेको जानकारी दिनुभयो । उहाँले उनीहरुले कम मूल्य निर्धारण मात्रै नभएर गलत मूल्य राख्ने काम समेत गर्ने गरेको बताउनुभयो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख महेश बरालले पनि विमानस्थलको भन्सारमा नयाँ–नयाँ भन्सार समस्या रहेको बताउनुभयो । उहाँले सरकारले विमानस्थल भन्सारबाट आयात हुने सामानहरुको विषयमा एकिन रुपमा तोकेर स्पष्ट बनाउनुपर्ने बताउनुभयो ।

कार्यालय प्रमुख बरालले पछिल्लो समय विमानस्थलमा वैदेशिक रोजगारी जानेहरुले ल्याउने सुनमा समेत कडाइ गरिएको बताउनु भयो । उहाँले कडाइ गर्दा सामान्य रुपमा एक जना वैदेशिक रोजगारीमा गएको मानिसले तिस चालिस ग्राम सुन ल्याउन दिने कुरामा दुःख दिएको जस्तो लाग्ने तर हरेक यात्रुलाई त्यही सुविधा दिँदै जाँदा नेपालमा वैधानिक रुपमा सुन आयात नहुने अवस्था देखिएको बताउनुभयो ।

कार्यालय प्रमुख बरालले सेडिङमा हरेक यात्रुलाई तीन चार ग्राम सुन पठाएर नेपालमा जम्मा गरी यात्रुलाई पैसा दिने गरेको समेत खुलेको बताउनुभयो । उहाँले सरकारले भन्सारका विषयमा कहाँ लचकता देखाउने र कहाँ कठोर बन्ने सीमा तय गर्नुपर्ने बताउनु भयो । उहाँले औँठी,सिक्री र बाला ल्याउन नदिने भए कानूनमा स्पष्ट बनाउनुपर्नेमा जोड दिनुभयो ।

भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार प्रमुखलाई कानूनले गोली हान्ने अधिकार दिएको तर गोली हान्ने मान्छे ल्याउनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्सार बिन्दुमा आउने सामानहरु भन्सार छली रोक्न मेहनतका साथ लागेको बताउनुभयो । उहाँले प्रविधिको हिसावमा भन्सार कार्यालय अन्य कार्यालयहरु भन्दा कम नभएको उल्लेख गर्नुभयो ।

अधिकृत रेग्मीले भन्सार कार्यालयहरु सबै पेपर र फेस लेसको अवस्थामा पुगेको बताउनुभयो । उहाँले खुला सीमा भएकाले भन्सारमा काम गर्ने कर्मचारीहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको गुनासो गर्नुभयो । उहाँले भन्सारमा काम गर्नु भनेको सबैभन्दा ठूलो अपराध समाजको भाष्यबाट उन्मुक्ति पाउने गरी भन्सार ऐन बनाउन सांसदहरुसँग माग गर्नुभयो ।