काठमाडौं । पूर्वाधार विकास समितिमा विभिन्न मन्त्रालयसँग जोडिएका आयोजनाहरुको विषयमा २२ वटा उजुरी परेको छ ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा २२ उजुरी परेको समितिले जानकारी दिएको हो ।
समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ८,ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय ३, खानेपानी मन्त्रालय २, शहरी विकास मन्त्रालय ४, रक्षा मन्त्रालय १ र अन्य ४ गरी २२ उजुरी समितिमा परेको समिति सभापति दीपकबहादुर सिंहले बताउनुभयो ।
सभापति सिंहले समितिमा कतिपय उजुरीहरु दोहोरो वा तेहेरो रुपमा परेको बताउनुभयो । उहाँले समितिमा परेका २२ उजुरीको विषयमा सांसदहरुको छलफलबाट समाधानको लागि पहल गर्ने निर्णय भएको बताउनुभयो । उहाँले हाईड्रोपावर निर्माण,प्रशारणलाइनका विषयमा परेका उजुरीको विषयमा अध्ययन गर्नको लागि पूर्व ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतको संयोजकत्वमा ५ सदस्य उपसमिति गठन गरिएको बताउनुभयो ।
सभापति सिंहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका उजुरी तथा सडक मापदण्डका विषयमा अध्ययनको लागि पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा अर्को उपसमिति बनाएको बताउनुभयो ।
सभापति सिंहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीपिच्छे हचुवाको भरमा सडक मापदण्ड तोक्नु राम्रो नभएको भन्दै कुन मापदण्ड र नियमअनुसार तोकिएको भन्ने विषय समितिलाई जानकारी दिन निर्देशन दिनुभयो । उहाँले सडक मापदण्ड तोक्दै भद्रगोल रुपमा सञ्चालन भइरहेको भन्दै त्यसलाई रोक्नको लागि वास्तविक अवस्था बुझ्नको लागि उपसमिति गठन गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्