
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको सम्झनामा आज सोमबार मेलमिलाप दिवस मनाइँदैछ ।
विसं २०३३ पुस १६ गते कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायतका नेताहरु मृत्युको परवाह नगरी स्वदेश फर्किएका हुन् ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई झण्डै तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यही वर्ष फागुन २६ गतेदेखि उहँलाई सुन्दरीजल बन्दी गृहमा राखिएको थियो ।
त्यसको आठ वर्षपछि २०२५ सालमा बिपीलाई उपचार गर्न रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत गएका कोइरालाले त्यहीँबाट निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध क्रियाकलाप गर्न थाल्नुभएको थियो ।
त्यसै समयमा सिक्किम भारतमा विलय भएको, भारतबाट पाकिस्तान अलग भएको देखेका बिपीले राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिएर ४८ वर्षअघि आजका दिन नेपाल फर्किनु भएको थियो ।
नेपाल फर्किनासाथ त्रिभुवन विमानस्थलमा बिपी कोइराला, नेता गणेशमान सिंहलगायतलाई सुन्दरीजल बन्दी गृहमा फेरि बन्दी बनाइएको थियो । २०३४ साल जेठ २७ गते उपचारपछि फिर्ता भएर कारागारमै फर्कने शर्तमा बिपी कोइरालालाई रिहा गरिएको थियो । त्यसपछि सुन्दरीजल बन्दी गृह हुँदै उहाँलाई प्रहरी तालिम केन्द्र महाराजगञ्जमा बन्दी बनाइएको थियो ।
सुन्दरीजलको बन्दीगृहमा बसेको समयमा बिपीले थुपै रचनाहरु लेख्नुभयो । उहाँले बन्दी जिवन बिताउँदा लेखेका रचनाहरुमा ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (जेल जर्नल) रहेका छन् । उहाँको ‘दोषी चश्मा’ कथा सङ्ग्रह भने २००८ सालमा प्रकाशन भएको थियो ।
आज काँग्रेसलगायतका भ्रातृ संस्थाहरुले देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर एकता तथा मेलमिलाप दिवस मनाइँदैछ।
प्रतिक्रिया दिनुहोस्