काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।
बुधबार रुपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि काँग्रेस, एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको बताउनुभएको हो ।
उपप्रधानमन्त्री सिंहले आज रुपन्देहीको सियारी गाउँपालिकामा सियारी पर्यटन करिडोरको शिलान्यास र दयानगर दानव लिफ्ट सिँचाइ योजनाको उद्घाटन गर्नुभयो । उहाँले पर्यटन करिडोर र लिफ्ट सिँचाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्थामा परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
नागरिकको जीवनमा परिवर्तन ल्याउन सियारी गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रमा गरेको काम उदाहरणीय भएको उहाँले बताउनुभयो ।
लिफ्ट सिँचाइ आयोजनाबाट १०५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा हुने जनाइएको छ । सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले कृषकको चाहना अनुसार पालिकाले काम गरिरहेको र दुई वटा योजना सफल भएपछि गाउँपालिकाको आर्थिक अवस्थामा आमूल परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्