७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


वर्तमान सरकारलाई असफल हुने छुट छैन : काँग्रेस नेता कोइराला


351
Shares

कैलाली । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकारको क्रियाकलापले आफूलाई निराशा भएको बताउनुभएको छ ।

छिटोछिटो सरकार परिवर्तन हुने कार्यलाई रोकेर देशमा स्थिरता कायम गर्न दुई ठूला दलले सरकार बनाएको बताउँदै उहाँले सोचे अनुसार परिणाम दिन नसकेको बताउनुभयो ।

आज नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनुभयो । जुन म्याण्डेड अनुसार सरकार बनेको हो त्यही अनुसार अघि बढनु पर्ने बताउँदै उहाँले सरकारलाई असफल हुने छुट नभएको बताउनु भएको हो ।

नेता कोइरालाले सरकारले तत्काल संविधान सुधारका लागि सबै दलसँग समन्वय र समझदारी गरेर अघि बढनु पर्ने बताउनुभयो । वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रधानमन्त्री स्वयंले नै स्विकारेको बताउँदै नेता कोइरालाले सरकार बनेको ५ महिना सम्मपनि उपलब्धि नभएकाले अब सुधार गर्दै अघि बढनुपर्ने बताउनुभयो ।

नेता कोइरालाले नेपाली काँग्रेस महाधिवेशनका लागि जुर्मुराएको बताउनुभयो । पार्टी सभापति शेर बहादुर देउवासँग आफ्नो कुनै दुरी नभएको उहाँले दाबी गर्नुभयो । उहाँले सभापति सुदूरपश्चिमको मात्र नभइ देशकै आदरणीय व्यक्ति रहेको बताउनुभयो ।

नेपाली काँग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो काँग्रेस बनाउने नेता कोइरालाले दाबी गर्नुभयो । नेपाली काँग्रेसको १५ औं महाधिवेशन २०८२ भित्रै विधान अनुसार हुनुपर्ने बताउँदै उहाँले महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने बताउनुभयो । नेपाली काँग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुढृढीकरण गर्नका लागि पनि महाधिवेशनको आवश्यक रहेको उहाँले बताउनुभयो ।