काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरु कठिन परिस्थितिमा चलिरहेको बताउनुभएको छ ।
बुधवार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले बैंकहरुले ऋणहरुसँग ऋणको सावाँ समेत ब्याज उठ्न नसक्दा बैंकहरु समस्यामा रहेको उल्लेख गर्नुभयो ।
गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा वित्तीय कारोबारको काम गर्दा प्रशस्त चुनौतीहरु रहेको बताउनुभयो । उहाँले राष्ट्र बैंकको नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि गर्न सघाउने खालका रहेको दाबी गर्नुभयो । उहाँले बैंकिङ क्षेत्रप्रति राष्ट्र बैंक गौरव गर्ने भन्दै नेपालको बैंकिङ अभ्यास पारदर्शी रहेको बताउनुभयो ।
गभर्नर अधिकारीले पछिल्लो समय बैंकभन्दा बाहिरको समस्याले चुनौति थपेको उल्ल्लेख गर्नुभयो । उहाँले बैंकहरुमा पछिल्लो समय पुँजी राम्रो भएपनि निष्क्रिय कर्जा बढेको बताउनुभयो । गभर्नर अधिकारीले राष्ट्र बैंकले व्यवस्था गरेको प्रोभिजनले बैंकहरुलाई बलियो बनाउँदै बैंकलाई बचाउन मद्दत गर्ने बताउनुभयो । उहाँले प्रोभिजनको व्यवस्थाले बैंकहरु आत्तिने स्थिति सिर्जना हुनबाट बचेको दाबी गर्नुभयो ।
उहाँले बैंकको लाभांश क्षमता राष्ट्र बैंकको कारणले नभएर बैंक आफ्नै कारणले दिन नसकेको बनाउनुभयो । उहाँले जुन बैंक इफिसियन्ट भयो त्यही बैंकले धेरै लाभांश बाँडेको भन्दै प्रोभिजनका कारण बैंकहरुको लाभांश क्षमता घटेको भन्न नमिल्ने उल्लेख गर्नुभयो । उहाँले कुनै बैंकले २६ प्रतिशतसम्म लाभांस बाडे भने कसैले शून्य लाभांश बाँडेको बताउनुभयो ।
गभर्नर अधिकारीले बैंकिङ क्षेत्रलाई वाह्य क्षेत्रबाट दबाब आउँदा समस्या परेको बताउनुभयो । उहाँले ऋण नतिरे पनि हुन्छ भन्ने हल्लाका कारण तल्लो तहका बैंकका शाखाहरुबाट काम हुन नसकेको बताउनुभयो । उहाँले बैंकको नाफामाथि प्रश्न उठ्दा पनि असहज अवस्थामा बैंकहरु पुगेको बताउनुभयो । बैंकहरु नाफाबिना चल्न नसक्ने भन्दै पुँजी लगानी गरेपछि प्रतिफल आवश्यकता पर्ने बताउनुभयो । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्