१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


अनुमति प्राप्त कम्पनीमार्फत घरजग्गा खरिदविक्री गर्ने कानून कार्यान्वयनमा ल्याउँछौं : अर्थमन्त्री पौडेल


1.404k
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अनुमति दिएर दर्ता भएका कम्पनीहरुमार्फत मात्रै घरजग्गा खरिदविक्री गर्ने कानून छिटै कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।

शुक्रबार नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभामा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

मन्त्री पौडेलले सरकारले अनुमति प्राप्त कम्पनीहरुबाट मात्रै घरजग्गा कारोबार हुने ऐन बनाए पनि कार्यान्वयनको लागि नियमवाली आवश्यक रहेको बताउनुभयो । उहाँले उक्त नियमावली चाँडै बनाएर ऐन कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले ब्रोकर लिएर मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवसायीहरुको मागमा सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रलाई ल्याण्डपुलिङको मान्यता दिने विषयमा सरकारले सोचिरहेको पनि बताउनुभयो ।

अर्थमन्त्री पौडेलले जग्गा हदबन्दी व्यवस्थाले विगतमा उपयुक्त काम गरे पनि अब समयानुकुल कानून संशोधन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले हदबन्दी व्यवस्थाले कृषि व्यवसाय गर्न, सौर्य ऊर्जाको काम गर्न धेरै समस्या देखिएको भन्दै त्यसलाई समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । उहाँले घरजग्गा व्यवसायमा देखा परेका समस्या अध्ययन गरी सरकारले सहयोग गर्ने र धराशायी हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री पौडेलले नेपालका शहर, बस्ती, खानेपानी, ढललगायको विकास गर्न शहरी विकास मन्त्रालय स्थापना गरिएको बताउनुभयो । विदेशीलाई अपार्टमेण्ट बेच्न पाउने मागलाई तत्काल कार्यान्वयन गर्नसक्ने अवस्था नभएको संकेत गर्नुभयो ।