काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गरेको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजमाथि फराकिलो नतिजा निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल)मा दोस्रो जित आत्मसात गरेको हो ।
विराटनगरले चितवनमाथि ५१ रनको जित निकाल्दै दोस्रो सफलता आत्मसात गरेको हो । जितसँगै विराटनगरले ६ खेलबाट चार अंक जोड्दा चितवनको समान खेलबाट ६ अंक छ । यो हारसँगै चितवनले प्लेअफका लागि बलियो सम्भावना बनाउने अवसर पनि गुमायो ।
त्रिवि क्रिकेट मैदानमा विराटनगरले १८२ रनको लक्ष्य दिएको थियो । तर चितवनले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेटको क्षतिमा १२९ रन मात्रै बनाउन सक्यो । छैटौं नम्बरका ब्याटर अमरसिंह रौटेलाको ४२ रन नै चितवनको सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।
उनले २९ बलमा तीन चौका र दुई छक्का हिर्काए । चितवनको शुरुवात राम्रो हुन सकेन । दोस्रो ओभरमै ओपनर हसन इसाखिल पाँच रनमा नै आउट भए । उनी बसिर अहमदको बलमा एलबिडब्लुको धरापमा परे । तर अर्का ओपनर सन्तोष कार्कीले २८ रन जोडे ।
चितवनका महत्वपूर्ण ब्याटर रवि बोपाराले लामो इनिङ खेल्न सकेनन् । सुवास भण्डारीले रविलाई २० रनमा नै बोल्ड गर्दै ठूलो झड्का दिए । कप्तान कुशल मल्ल पनि २५ रनमा पेभेलियन फर्किएपछि चितवनले ठूलो योगफल भेट्टाउन सकेन ।
डेब्यु गरेको बसिल हमिद पनि १ रनमा नै सन्दीप लामिछानेद्वारा बोल्ड भए । विराटनगरको बलिङमा कप्तान सन्दीपले दुई तथा बसिर अहमद, क्रिस सोले, सुवास भण्डारी र लोकेश बमले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८१ रनको योगफल बनाएको थियो ।
विराटनगरको सुरुआत निकै खराब रह्यो । ६.२ ओभरमा ३३÷४ को नाजुक अवस्था थियो । तर ओपनर मार्टिन गप्टिल र बसिर अहमदलाई रोक्न नसक्दा विशाल योगफल सामना ग¥यो ।
मार्टिनले ४५ बनाउँदा बसिर ६८ रनमा र राजेश पुलामी ३३ रनमा अविजित रहे । बसिरले ४४ बलमा समान चार चौका र छक्का हिर्काए । गप्टिलले चार छक्का र एक चौका प्रहार गरे । पुलामीले पनि एक चौका र तीन छक्का हिर्काए । चितवनका बलिङमा रिजन ढकालले दुई तथा सोहेल तनभिर, बसिल हामिद र कप्तान कुशल मल्लले समान एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्