काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न जरुरी रहेको बताउनुभएको छ ।
स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्यमा व्यवस्थित लगानी नहुँदा परिणाम दिन नसकेको उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा लगानी पनि आवश्यकताअनुसार हुन नसकेको र भएको लगानीलाई पनि व्यवस्थित गर्न नसकेको बताउनुभयो ।
उहाँले नागरिकको स्वास्थ्य सरकारको पहिलो दायित्व भएको भन्दै स्वास्थ्यको दायित्वबाट सरकार विमुख हुन नमिल्ने उल्लेख गर्नुभयो । स्वास्थ्य क्षेत्रका संरचना र जनक्तिलाई पनि व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, ‘स्वास्थ्य कुनै न कुनै ढंगबाट राज्यले दायित्व लिनुपर्ने कुरा हो । राज्यको दायित्वको विषयमा राज्यले कति लगानी गरेको छ । कति प्राथमिकतामा राखेको छ, यसको व्यवस्थापन कति चुस्त, दुरुस्त हुन सकेको छ, यो आजको एकदमै महत्वपूर्ण विषय हो । हाम्रोमा संरचनागत पक्षबाट पनि यसलाई व्यवस्थित गर्न सकेनौँ, उपकरण उपलब्धताको पक्षबाट पनि यसलाई व्यवस्थित गर्न सकेनौँ, जनशक्तिको पक्षबाट पनि यसलाई व्यवस्थित गर्न सकेका छैनौँ । अस्पताल बनाएर मात्रै हुँदैन, अस्पतालभित्र उपकरण र जनशक्ति पनि हुनुपर्छ ।’
मन्त्री पौडेलले आर्थिक पक्षबाट पनि स्वास्थ्यलाई सर्वसुलभ र सहज बनाउनुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्