
दीपक घिमिरे (इमेज)
भैरहवा, असार ६ । भैरहवाको सिद्धार्थ बस टर्मिनललाई सुविधासम्पन्न बसपार्क बनाउने काम अन्तिम चरणमा पुगेको छ ।
साँघुरोका कारण बसपार्कमा पार्किङको समस्या भएकाले सुविधासम्पन्न राष्ट्रियस्तरको बसपार्क निर्माण गर्न थालिएको हो ।
भैरहवाको हालको बसपार्क साघुँरो भएका कारण पार्किङका लागि समस्या भइरहेको छ । सवारीको अत्याधिक चाप र मानिसको भीडभाड हुँदा धेरैले सास्ती पाउँदै आएका छन् ।
तर, सुविधासम्पन्न बसपार्क बनिसक्नै लागेकाले अब भने केही सहज हुने भएको छ ।
यतिबेला बसपार्कसँगै पछाडि रहेको साढे ५ विगाहा जग्गामा १२ करोड ३२ लाख रुपैयाँको लागतमा बसपार्क निर्माणको काम धमाधम भइरहेको छ । २०० देखि २५० को संख्यामा बस पार्किङ गर्न मिल्ने बताइएको छ ।
लुम्बिनी अर्घाखाँची बाबुल जेभीले जिम्मा लिएको काम करिब–करिब अन्तिम चरणमा छ । उच्चस्तरीय बसपार्क निर्माण हुने भएपछि स्थानीय वासिन्दा उत्साहित देखिन्छन् ।
वि.सं. २०७४ असार २१ गतेको सम्झौताबाट सुरु भएको बसपार्क आयोजनाको ६० प्रतिशत भौतिक तथा ३० प्रतिशत वित्तीय प्रगति भएकोे सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रुपन्देहीका इन्जिनियर घनश्याम श्रेष्ठल जानकारी दिए ।
साथै, बसपार्कको स्तरोन्नतिपछि यो बसपार्क बुटवलको बसपार्कभन्दा पनि ठूलो र सुविधा सम्पन्न हुने उनको भनाइ छ ।
२०७५ असोज मसान्तसम्म सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको छ । लुम्बिनी अर्घाखाँची बाबुल जेभीका निर्माण व्यवसायी नारायण पौडेलकाअनुसार अप्ठ्यारा काम सकिएकाले समयमै काम सकिनेमा कुनै शंका छैन ।
बसपार्कस्थलमा महिला, पुरुष शौचालय, फुटपाथ, वर्कसप, प्रतीक्षालय, सोलार बत्तीलगायतका संरचना रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्