काठमाडौं । सूचनाको हक कार्यान्वयन गर्न स्थानीय तहहरुलाई थप जिम्मेवार बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
बिहीबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भुमिका, समस्या तथा चुनौति र भावी कार्यदिशाका सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँग छलफलमा सहभागि हुँदै अधिकांश सांसदहरुले यस्तो बताएका हुन् ।
नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने निकाय स्थानीय तह भएकाले सूचनाको महत्वबारे आम नागरिकलाई जानकारी दिन देशभरका प्रत्येक वडाहरुमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरुको माग छ ।
छलफलमा सहभागि हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले सार्वजनिक निकायहरुले सूचना उपलब्ध गराउन नमान्दा पुनरावदेन दिनसक्ने वातारण बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सूचनाहरु दिन नमान्ने, लुकाउने, दबाबमा राख्ने गरिएपनि नागरिक पुनरावेदनका लागि आयोगसम्म पुग्न नसकेको बाउनुभयो । उहाँले सूचना नपाउँदा आम नागरिकलाई राष्ट्रिय सूचना आयोगसम्म आउने वातावरण सिर्जना गर्न कुनै संयन्त्र बनाएका छौं कि छैनौं रु भन्दै प्रश्न गर्नुभयो ।
उहाँले सूचनाको हकको सही कार्यान्वयन गर्न स्थानीय सरकारको तर्फबाट देशभरका प्रत्येक वडामा तालिम तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गर्नुपर्ने बताउनुभयो ।
सांसद महिन्द्रराय यादवले सूचनाको सम्बन्धमा कानूनले दिएका अधिकारका कुराहरु आम जनातालाई दिनको लागि स्थानीय तहमा चेतनामुलक अभिमुखिकरणको आवश्यकता रहेको बताउनुभयो । यस्तो गर्न सकिएको अवस्थामा नागरिको सूचना पाउने अधिकार सुनिश्चित हुने र सार्वजनिक निकायहरुलाई आिर्थक पारदर्शीताका लागि जिम्मेवार बनाउने बताउनुभयो । नेपालको मानव सूचकाङ्कमा पछि परेका मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा प्राथमिकता दिनुपर्नेमा उहाँको जोड थियो ।
नेकपा (एमाले)का सांसद छविलाल विश्वकर्माले सूचना दिने सवालमा सरकारी तथा सार्वजनिक निकायहरु जिम्मेवार हुनुपर्ने बताउनु भयो । उहाँले सूचनाको प्रवाहलाई सुशासनसँग जोड्न आवश्यक रहेको औंल्याउनुभयो । जनतालाई सूचनाको महत्व दिन स्थानीय तहहरुमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँको जोड थियो ।
समितिमा सहभागि अधिकांश सांसदहरुले सूचनाको वर्गीकरण गर्न आवश्यक रहेको भएपनि नागरिकलाई सहज र सरल तरिकाबाट सूचना उपलब्ध गराउने कुरामा सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्