काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानूनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
सभामुख घिमिरेले संसद कानून बनाउने थलो भएपनि वर्तमान संसदले कानून बनाउन नसकेको स्वीकार गर्नुभयो । उहाँले संसदमा कानून ल्याउँदा सरकारले आफ्नो आवश्यकता, अध्ययन, बुझाईबाट ल्याउने र त्यही आधारमा संसदमा छलफल गर्ने स्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
सभामुख घिमिरेले सरकारले कानून उत्पत्ति गर्दै सांसदहरुको सहभागिता बनाउने प्रवन्ध गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी संसद अधिवेशन कहिले बोलाउने भन्ने विषय संसदहरुको भुमिकामा निर्भर हुने बताउनुभयो ।
सभामुख घिमिरेले अहिले सांसदहरु नै संसद अधिवेशनको लागि तयार नदेखिएको बताउनुभयो । उहाँले समितिहरुले संसदमा पेस भएका विधेयकहरुलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद अधिवेशन छिटो बोलाउन दबाब दिन सक्नुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेले संसदको गरिमा उच्च रहेको र सांसदको भुमिका महत्वपूर्ण रहेको भन्दै सांसदहरुले संसदलाई कम ठानेर नलाग्न संसदहरुलाई आग्रह गर्नुभयो । उहाँले सांसदहरुले आफ्नो उचाईबाट सरकारलाई हेर्न सक्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्