काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असार महिना यताको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।
लक्ष्मीनिया गाउँपालिकाको गाउँसभा हुन नसक्दा खातासम्म सञ्चालन नभएकाले वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् ।
आफूहरुले असार महिना यताको भत्ता पाउन नसकेको लक्ष्मीनिया गाउँपालिकाकी कुमारी मण्डलले गुनासो गर्नुभयो । भत्ता नपाउँदा धेरै समस्यामा परेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मेरै गाउँको अध्यक्ष हुन् तर पटक पटक भेटेरै गुनासो गर्दा समेत सुन्नुहुन्न ।’
यता अर्का वृद्धले छोराछोरीले घरमा खर्च नदिने र पालिकाले पनि भत्ता नदिँदा निकै मर्कामा परेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘भत्ताकै भरमा आफ्नो खर्च चलाईरहेका थियौँ तर पटक पटक धाउँदा समेत असारपछि भत्ता पाएका छैनौँ ।’
लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादवले प्रमुख प्रशासकीय अधिकृतका कारण यो समस्याको सिर्जना भएको आरोप लगाउनुभयो । उहाँले प्रमुख प्रशासकीय अधिकृतको असक्षमताका कारण गाउँसभा नहुँदा पालिकाको खातासम्म सञ्चालन हुन नसकेको बताउनुभयो । पालिकाको खाता सञ्चालन नभएकै कारण भत्ताहरुका साथै कर्मचारीहरुले तलवसम्म पाउन नसकेको बताउनुभयो ।
यही विषयलाई लिएर लक्ष्मीनिया गाउँपालिकाको कार्यालय पुगेर जनप्रतिनिधिहरुका साथै नागरिक समाजले दबाबमुलक कार्यक्रम समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्