काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले स्वदेशी उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न तयारी वस्तुको आयातलाई निरुत्साहित गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष अग्रवालले प्याकेजिङ वस्तुहरुको आयातको कारण मुलुकमा उद्योगहरुको क्षमता भन्दा ४० प्रतिशत कम सञ्चालनमा रहेको बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई बलियो र दिगो बनाउनको लागि आन्तरिक उत्पादनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आन्तरिक उत्पादन बढाउन स्वदेशमा उत्पादन भएका हुनसक्ने वस्तुहरुको प्रवद्र्धन गर्ने नीतिहरु अवलम्वन गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष अग्रवालले स्वदेशी उत्पादनले आन्तरिक माग धान्नसक्ने वस्तु आयातलाई निरुत्साहित गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । आन्तरिक माग धान्नसक्ने वस्तु आयातलाई निरुत्साहित गर्दा औद्योगिक विकासलाई बढवा दिने र व्यापार घाटा कम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उहाँको भनाई छ । अध्यक्ष अग्रवालले आयात प्रतिस्थापन गर्नसक्ने अन्य उद्योगसँगै प्लाष्ट्रिक उद्योग पनि एक भएकाले संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष अग्रवालले सरकारले गर्ने सामान्य नीतिगत सुधारले पनि औद्योगिक उत्पादन वृद्धि हुने बताउनुभयो । उहाँले सरकारले नीतिगत सहजिकरण गर्नसके मात्रै पनि धेरै वस्तुहरुमा आत्मनिर्भर बन्नसक्ने अवस्था रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्