८ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर • Image Khabar Image Khabar


८ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर


Imagekhabar
५ असार २०७५, मंगलवार २२:२३

८ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

हरि लामिछाने (रासस)

बेइजिङ, असार ६ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न ८ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ ।

बेइजिङस्थित नेपाली दूतावासमा बुधबार आयोजित एक समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

दैनिक तीन हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेका हुन् ।

सो परियोजनामा हुवासिनले रु १४ अर्ब ४० करोड लगानी गर्नेछ । सो परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्नेछ ।

धादिङमा रहेको चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उद्योग स्थापना गर्ने सम्बन्धमा यसअघि नै प्रारम्भिक सम्झौता भइसकेको छ ।

यस्तै, पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत् परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धी सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चीनको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ दोङग्युआनबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यस्तै, फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो परियोजनामा ४६ मिलियन डलर लगानी गरिनेछ ।

यस्तै, १६४ मेगावाट क्षमताको नेपाल कालीगन्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्हवा वाटर कन्जरभेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट कम्पनीबीच संयुक्त आयोजना निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

यसैगरी, ४०.२७ मेगावाट क्षमताको सिउरी न्यादी जलविद्युत् आयोजना निर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाइँ र चाइना नेसनल इलेक्ट्रिक इन्जिनियरिङ कम्पनीका प्रतिनिधिबीच इपीसीएफ मोडलमा आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल पस्मिना उद्योग संघ र ओबोर परियोजनाअन्तर्गत् अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच दुई लाखदेखि पाँच लाखथान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

संघका अध्यक्ष दुर्गाविक्रम थापा र चिनियाँ ओबोर अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु याबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस्तै, कुल ६०० मेगावाट क्षमताको मर्स्याङ्दी क्यास्केड जलविद्युत् परियोजना निर्माणका लागि ‘फ्रेमवर्क एग्रिमेन्ट’ भएको छ ।

बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योति र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइईसीबीच सम्झौता भएको छ ।

यसैगरी, ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी परियोजना निर्माणका लागि सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र दोङ्फाङ इलेक्ट्रिक इन्टरनेसनल कम्पनीबीच सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्