२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


यान्त्रिकीकरणले पाल्पामा कृषक लाभान्वित


533
Shares

भरत शर्मा

पाल्पा । अनकुल हावापानी र समयमै रासायनिक मलदेखि बिउबिजनको उपलब्धताले पाल्पामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । कृषिमा बढ्दो यान्त्रिकीकरणको आर्कषण र प्रयोग बढेपछि कृषकलाई धान भित्र्याउन निकै सहज भएको कृषक बताउँछन् ।

पाल्पाको माडी फाँट, रामपुर फाँट, अर्गली फाँँट, कचँल फाँट, पुर्वखोला फाँट, छेर्रलुङ्ग फाँट, हुर्गी, गेझा, सर्देवा फाँटमा यस वर्ष धानको उत्पादन राम्रो भएको छ । धान उत्पादनका लागि चाहिने प्रशस्त वर्षा, कृषकले समयमा मल तथा विउ पाएका कारण धान उत्पादनमा वृद्धि भएको कृषकहरुले बताएका छन् । कृषिमा यान्त्रिकीकरण तथा आधुनिकरणले पनि कृषकलाई काम गर्न सजिलो र लागत समेत कम पर्ने गरेको छ सराइ माडी फाँटका कृषक मोहन चिदीले बताउनुभयो ।

कृषिमा बढ्दो यान्त्रिकीकरणका कारण चार पाँच दिन लाग्ने काम, दुईचार घण्टामै सकिने गरेको छ । कृषिमा उत्पादन लागत कम पर्ने, खेतालाहरु कम लाग्ने, छिटो छरितो काम हुने भएपछि पाल्पाका ठुला ठुला फाँटमा खेतबारीमा धान झाट्ने थ्रेसर मेशिनको प्रयोग बढ्दै गएको छ । थ्रेसरका कारण तीन चार दिन लाग्ने काम एक दुई घण्टामै हुने गरेको माडी फाँटका कृषक मिन बहादुर चौहानले बताउनुभयो ।

गत वर्ष पाल्पामा ३३ हजार ६ सय ३० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष बढेर करिब ३५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्र पाल्पाले गरेको छ । जिल्लाका केही फाँटका कृषकले अहिले पनि धान भित्र्याउने क्रममा रहेकाले स्थानीय तहबाट तथ्याङ्गक बढ्ने कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष कुमार चौधरीले बताउनुभयो ।

पछिल्लो समय कृषिप्रति बढेको आर्कषणसँगै स्थानीय तहदेखि सम्बन्धित अन्य सरोकारवाला संघसंस्थाले गरेका विभिन्न सहयोगका कारण पनि धान उत्पादनमा वृद्धि भएको देखिन्छ । फलस्वरुप कृषि र कृषकप्रति राज्यले बनाउने नीति तथा कार्यक्रम कृषि मैत्री भएको खण्डमा कृषि प्रधान मुलुकको नामले सार्थकता पाउने देखिन्छ ।