१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, आज सार्वजनिक बिदा


2.158k
Shares

काठमाडौं । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ ।

सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।

प्रवक्ता गुरुङकाअनुसार सरकारले आज पूर्वसभामुख ढुंगानाको निधनमा शोक मनाउन मंसिर ३ गते सार्वजनिक बिदा दिने र नेपालका सरकारी कार्यालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

प्रवक्ता गुरुङले भन्नुभयो, ‘प्रतिनिधि सभाका पूर्वसभामुख श्री दमननाथ ढुंगानाजीको ८३ वर्षको उमेरमा हिजो अपरान्ह असमायिक निधन भएकोमा नेपाल सरकार गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । यस दुःखद् घडीमा शोक सन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकार गहिरो समवेदना व्यक्त गर्दछ ।’

‘राजकीय सम्मानअनुसार अन्त्येष्टि हुन्छ । उहाँको निधनमा शोक मनाउन वि.सं. २०८१ साल मंसिर ३ गते सार्वजनिक बिदा दिने । नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने ।’ प्रवक्ता गुरुङले भन्नुभयो

पूर्वसभामुख ढुंगानाको मंसिर २ गते आइतवार ८३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । पूर्वसभामुख ढुंगानाको निधनमा सरकारले शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।