२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


परेवा उडानमा सुगत मानन्धरको परेवा प्रथम


1.144k
Shares

काठमाडौं । राष्ट्रिय परेवा उडान प्रतियोगितामा काठमाडौं बाङ्गेमुढाका सुगत मानन्धरको परेवा प्रथम भएको छ । नेपाल परेवा उडान खेल संघले शनिवार रजत महोत्सव मनाउँदै विजेता मानन्धरलाई पुरस्कृत गरेको छ ।

मानन्धरलाई पाकिस्तानका उस्ताद हाजी महम्मद र नेपाल पंक्षी संरक्षण संघका अध्यक्ष करणबहादुर शाह लगायतले नगद र स्वर्ण पदकसहित पुरस्कृत गरेका थिए । मानन्धरको परेवाले बेष्ट एभरेज ३८ घण्टा ३० मिनेटको लामो समय उडान भरेका थिए ।

यस्तै, दोस्रो स्थानमा कालधाराका कविन श्रेष्ठको परेवाले ३४ घण्टा ८ मिनेट, तृतीय भएका थिमीका वीरेन्द्र श्रेष्ठको परेवाले ३२ घण्टा २३ मिनेट उडान भरेका थिए । यस्तै बर्दिबासका हरिश भुजु चौथा र भक्तपुरका तुलसी कुमार साहुखलको पाँचौं भएका परेवाले क्रमशः २० घण्टा ५१ मिनेट र ९ घण्टा १० मिनेट उडान गरेका थिए ।

प्रतियोगितामा थिमीका दिनेश श्रेष्ठको परेवा उत्कृष्ट बनेको थियो । विजेताहरुले क्रमश ५० हजार, ३५ हजार, २५ हजार, १० हजार, ८ हजार र ५ हजार रुपैंया प्राप्त गरेका थिए । उक्त प्रतियोगितामा काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, बर्दिवास र बुटवलका ८४ जना परेवा पालकहरुले भाग लिएका थिए ।