१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


‘हिमालमा परेका असरबारे विश्वसमुदायलाई केही हदसम्म जानकारी गराउन सफल भयौं’


247
Shares

अजरबैजान/बाकु । नेपालसहित जलवायुजन्य जोखिममा परेका पर्वतीय मुलुकहरुले हिमाल वातावरण अनुकुलित गराउने माध्यम भएकाले संरक्षणमा लाग्न विश्वको ध्यानाकर्षण गराएका छन् ।

बुधबार अजरबैजानको बाकुमा जोखिममा परेका पर्वत र हिमाली क्षेत्रका हानी नोक्शानीको बारेमा नेपालले आयोजना गरेको उच्चस्तरीय कार्यक्रममार्फत नेपालसहितका पर्वतीय मुलुकले विश्वको ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी लगायत विज्ञहरुले नेपालका पर्वतहरुमा परेका समस्याबारे विश्वमाझ धारणा राख्नुभएको थियो । कार्यक्रमबारे जानकारी दिँदै वन तथा वातावरण मन्त्रालयका जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाका प्रमुख सिन्धुप्रसाद ढुंगानाले कोप २९ को अन्तर्राष्ट्रिय मञ्चबाट नेपालले पर्वतका मुद्दाहरु विश्वमाझ उठाएको बताउनुभयो ।

पर्वतीय क्षेत्रमा जलवायुजन्य जोखिमका कारणले भइरहेका हानी, नोक्शानीलाई कसरी सम्बोधन गर्ने र त्यसले कति क्षति पु¥याइरहेको छ भन्नेबारेमा विश्वको ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले नेपालको हिमालमा परेका असरबारे विश्वसमुदायलाई केही हदसम्म जानकारी गराउन आफूहरु सफल भएको बताउनुभयो ।

कार्यक्रममा पर्वतीय देशहरु संकटमा रहेको र संकटका कारण मानव समुदायमा हानी नोक्शानी भएकोबारे छलफल भएको हो । नेपालले आयोजना गरेको उच्चस्तरीय कार्यक्रममा किर्गिस्तान, ताजकिस्तान, बेलायत, फ्रान्स लगायतका पर्वतीय मुलुकहरुको सहभागीता रहेको थियो । सहभागी देशहरुले नेपालले पर्वतीय मुद्दामा लिएको नेतृत्व महत्वपूर्ण रहेको र पर्वतीय मुद्दामा लिएको नेतृत्वलाई अझ उजागर गर्नुपर्छ सन्देश दिएका छन् ।

नेपालका प्रतिनिधिसँग अजरबैजानमा कुराकानी गर्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा.दीपककुमार खरालले उच्चस्तरीय सत्रमा नेपालसहित पर्वतीय मुलुकहरुले पर्वतहरु संकटमा रहेको र सबैले संरक्षण गर्नुपर्नेमा जोड दिएको बताउनुभयो । उहाँले कार्यक्रममा बेलायत, माल्दिभ्सहित सहभागी देशका प्रतिनिधि र किजिकिस्तानका राष्ट्रपतिले आफ्नो धारणा राख्नुभएको बताउनु भयो । साथै राष्ट्रपति पौडेलले पर्वतीय मुुलुकहरु मिलेर हिमालमा परेको असरबारे आवाज बलियो बनाउनुपर्ने धारणा राख्नुभएको बताउनुभयो ।

हिमाल वातावरण अनुकुलित बनाउने माध्यम भएकाले पनि सबैले संरक्षण गर्नुपर्ने निचोड बैठकको रहेको बताउनुभयो । कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आह्वान गर्नुभयो ।