अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पीडित हुनेहरुलाई न्याय दिन उनीहरुले भोगेका जलवायु समस्या र गरिवी निवारण कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
अजरबैजानको बाकुमा सोमवारदेखि शुरु भएको कोप-२९ सम्मेलनका क्रममा बुधबार किर्गिस्तानद्वारा आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।
पर्वतीय क्षेत्रका नागरिकले व्यहोरेका जलवायु समस्या उनीहरुको आफ्नै कारणले नभई द्रुत गतिमा प्राकृतिक स्रोतको दोहन गरेर धनी भएका विकसित राष्ट्रहरुले गरेको कार्वन उत्सर्जनका कारण भएको उहाँको धारणा थियो । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा त्यस क्षेत्रका गरिव महिला, बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित बनेको बताउनुभयो ।
कोप २९ जलवायुजन्य पीडितलाई न्याय दिन सफल हुने विश्वास राखेको बताउनुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । जलवायु परिवर्तनका प्रभाव हरेक वर्ष बढ्दो रहेको र त्यसले नयाँ रेकर्ड कायम गर्दै गएको बताउँदै त्यसका कारण पर्वतीय क्षेत्र तुलानात्मक रुपमा बढी जोखिममा परेको उहाँको भनाइ थियो ।
गत अगस्टमा नेपालको सगरमाथा क्षेत्रमा हिमताल फुट्दा थामे गाउँका ३५ भन्दा बढी घरधुरी विस्थापन भई करोडौंको हानीनोक्शानी व्यहोर्नुपरेको सन्दर्भ उल्लेख गर्दै उहाँले गत मनसुन सिजनमा आएको वाढी पहिरोमा नेपालका ५ सय बढी नागरिकले जीवन गुमाउनु परेको बताउनुभयो ।
“यसको पीडा अझै सन्चो भएको छैन, आउँदा दिनमा यो समस्या अझ बल्झिने छ र विकराल अवस्था सृजना गर्नेछ भन्ने आंकलन अहिले नै गरेनौँ र उपयुक्त सावधानी लिएनौँ भने भोलि अझ बढी हानिनोक्शानी व्यहोर्नुपर्ने छ” राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले नेपाल र किर्गिस्तान दुवै पर्वतीय मुलुक भएकोले हामीहरुले भोगेका जलवायु परिवर्तनका असर र प्रभाव पनि समान रहेको बताउनुभयो । साथै नेपाल र किर्गिस्तानले विगतमा हिउँ चितुवा संरक्षणमा पनि सँगै काम गरेको अनुभव रहेको उहाँले स्मरण गर्नुभयो । सो कार्यक्रममा किर्जिकिस्तानका राष्ट्रपति, मंगेलियाका राष्ट्रपति, अजरबैजानका विदेशमामिला मन्त्रीलगायतले बेल्नुभएको थियो ।
अजरबैजानको बाकु शहरमा कात्तिक २६ गतेबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप-२९) अन्तर्गत मंगलबार राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्नुभएको थियो ।
सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन आज यहाँ राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्दैछ । सम्मेलन (कोप–२९) अन्र्तगत नेपालले आज यहाँ आयोजना गर्ने ‘माउण्टेन इन पेरिल, एडे«सिङ लस एण्ड डयामेज इन द हिमालय’ ( ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्शानीको सम्बोधन’) शिर्षकको उच्चस्तरीय राउण्ड टेबल बैठकलाई उहाँले सम्बोधन गर्नुहुने छ ।
अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमवार बाकु पुग्नुभएको हो । उहाँलाई त्यहाँस्थित हैदर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्यायमन्त्री फरिद अहमदोले स्वागत गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन भएको र यो सम्मेलनले विकसित देशलाई कार्वन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिवद्धता प्रकट गरेको रकÞम लगानी गर्न तथा कार्वन उत्सर्जनमा न्युन योगदान गरेर पनि मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्ने बताउनुभएको थियो ।
त्यस्तै, राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरसबीच जलवायु परिवर्तनबाट देखिएको समस्या समाधानका बारेमा कुराकानी भएको थियो । कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा उहाँहरुबीच भएको भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानका बारेमा छलफल भएको हो ।
यस सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, वन तथा वातारणमन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता छ । सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ । कोप-२९ मा भाग लिन राष्ट्रपति पौडेल यसअघि यही कात्तिक २५ गते आइतबार काठमाडौंबाट दोहाको लागि प्रस्थान गर्नुभएको थियो । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस्