१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


अधिकांशको रोजाइमा डिल्लीबजार कारागार


3.406k
Shares

काठमाडौं । जुनसुकै मुद्दामा कैद भुक्तान गर्दा होस् वा पुर्पक्षका लागि थुनामा पठाइँदा अधिकांशको रोजाइ डिल्लीबजार सदरखोर हुने गर्दछ । त्यसमाथि विभिन्न अभियोगमा थुनामा पुग्ने उच्च ओहोदाका व्यक्तिहरुको रोजाइमा पर्ने गरेको छ, डिल्लीबजार सदरखोर ।

डिल्लीबजार सदरखोर नेपालका प्रमुख कारागार मध्ये एक हो । कारागार ऐन २०१९ अन्तरगत सञ्चालनमा रहेको राणाकालमा निर्मित यो कारागार १५० वर्ष पुरानो भवनमा छ । राणा प्रधानमन्त्री चन्द्र शमशेरको दरबार रहेको डिल्लीबजार सदरखोर १९०९ सालदेखि कारागारको रुपमा प्रयोग हुँदै आएको हो । कुल ४ रोपनी ५ आनामा फैलिएको यो कारागारमा ए र बी गरी दुइवटा ब्लकहरु रहेका छन् । ठूलाठूला १२ वटा हलहरु छन् भने एउटा लाइब्रेरी र एउटा ठूलो भान्छा कोठा छ यो कारागारमा ।

राजनीतिक बन्दीहरु यो कारागारमा राखिने भएकाले विगत देखिनै यो कारागार चर्चामा रहंदै आएको हो । राजनैतिक बन्दी होस् वा विभिन्न अभियोगमा सजाय काट्न पुगेका उच्च ओहोदाका व्यक्ति नै किन नहुन् सबैको रोजाइमा पर्ने गरेको सत्य हो । यही कारागारमा पुर्व गृहमन्त्री खुमबहादुर खड्का होस वा कृष्ण बहादुर महरा, पुर्व सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ता, राजनैतिक दलका नेताहरु श्यामसुन्दर गुप्ता, गोबिन्द राज जोशीदेखि सुडान घोटालामा दोषी ठहर नेपाल प्रहरीका पूर्व प्रमुख रमेश चन्द ठकुरी, हेमन्त राणा, ओम बिक्रम राणादेखि श्रीमतीलाई जलाएर हत्या गरेको अभियोगमा सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला अनि कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीको रोजाइमा पनि पर्यो डिल्लीबजार कारागार ।

यहाँसम्म कि ज्यानमार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङेको रोजाइमा पनि डिल्लीबजार कारागारनै पर्यो । यो कारागारमा सबै कैदीबन्दीलाई एकै साथ सामुहिक रुपमा समान व्यवहारका साथ राख्ने गरिएको छ । कसैलाई पनि कुनै विशेष सुविधा वा व्यवस्था नगरिएको कारागार प्रशासनको दाबी रहेको छ । कारागारको नियम अनुसार उनीहरुलाई पनि अन्य कैदी बन्दीहरु सरह औषधि उपचार, खान बस्ने सुविधा उपलब्ध गराइन्छ । दैनिक ६० रुपैयाँ र ७०० ग्राम चामल दिइने व्यवस्था छ । थप सुविधाका रुपमा भने वर्षमा २ जोर कपडा र २ वर्षको अवधीमा सिरक, डस्ना पनि दिने गरिन्छ ।

भौतिक संरचना र व्यवस्था जे जस्तो भए पनि यो कारागार विगतदेखि नै भीआइपी बन्दीहरुको पहिलो छनोटमा भने पर्दै आएको छ ।